५ माघ २०७८, बुधबार / Jan 19, 2022

ट्रमा सेन्टरमा बरालको हंगामा : छानविनका लागि नर्सिङ संघद्वारा ३ सदस्यीय टोली गठन

सुशासन सम्बाददाता
१० आश्विन २०७७, शनिबार १५:१०
833 Views

काठमाडौं । नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हंगामा गरेको विषयमा छानविन गर्नका लागि नेपाल नर्सिङ संघले टोली गठन गरेको छ । संघले जानकी धामीको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरेको हो ।

छानविन टोलीमा संयोजक धामीसँगै राजकुमारी ज्ञवाली र दिलकुमारी थापा सदस्य रहेका छन् । टोलीले गत असोज ६ गते झण्डै २ घन्टासम्म बरालले राष्ट्रिय ट्रमा सेन्टरमा हंगामा गरेको विषयमा छानविन गरी रिपोर्ट बनाउने छ ।

छानविन प्रक्रिया पुरा गरी रिपोर्ट बुझाउनका लागि टोलीलाई ३ दिनको समय दिइएको संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राईले जानकारी दिइन् । यसअघि काउन्सिल सदस्य बरालले राष्ट्रिय ट्रमा सेन्टरमा स्वास्थ्यकर्मीलाई अभद्र व्यवहारसहित हङ्गामा गरेको भिडियो सार्वजनिक भएको थियो ।

बराल आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको अभियानमा आवद्ध छिन् । डा.गोविन्द केसीलाई काठमाडौं ल्याएपछि उनको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी थिइन् ।

रक्सी सेवन गरेर पुगेकी उनले इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याकेर फुटाउने काम गरेकी छन् ।

ट्रमा सेन्टरका एक चिकित्सकका अनुसार बरालले इमेरजेन्सी कक्षमा गीत गाउने, नाच्ने, अश्लील शब्द प्रयोग गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गर्नेलगायतका अभद्र व्यवहार गरिन् । बरालले हंगामा गरेको खबरसँगै पुगेको प्रहरी टोलीलाई उनले बलात्कारी भनेर पटक पटक भनेकी थिइन् ।

बरालले रक्सी सेवन गरेर डा.केसीको पक्षमा आन्दोलन गर्न आएकाले समस्या भएको ज्ञानेन्द्र शाहीका एक सहयोगीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाही पुगेपछि उनी शान्त भएर उनीसँगै बाहिरिएकी थिइन् । उनको भिडियो बनाउनेलाई शाहीले धम्की दिएर भिडियो डिलिट गर्न लगाएका थिए । शाहीले सबैजनाको मोबाइल खोसेर भिडियो डिलिट गरेका एक कर्मचारीले बताएका छन् ।

बराल यसअघि पनि घुस काण्डमा परेकी थिइन् । शाहीको अभियानमा लागेकी उनको व्यवहार अस्वभाविक हुने गरेका छन् ।