विप्लव समूहका कम्पनी कमिसार सहित २ जना पक्राउ

 

१३ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कम्पनी कमिसार सहित दुई जना मोरङमा पक्राउ परेका छन । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसे स्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले सुशासन खबरलाई जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) रहेका छन् ।

प्रहरीका अनुसार प्रतिक नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् भने यसैगरी सनम भनिने बिज्ञान राई साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचनाको आधारमा मिक्लाजुङ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि गएको प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डको टोलीले पक्राउ गरेको थियो ।

उनीहरु बसेको स्थानबाट नालसहितको भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *