१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

आइतबारदेखि निर्माण होलिडे गर्ने : निर्माण ब्यबसायी महासङ

सुशासन सम्पादक
१० बैशाख २०७९, शनिबार ०८:४३
63 Views

निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।
ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले बताए। उनले भने ‘ठेक्का लिने बेलामा भन्दा अहिले कतिपय निर्माण सामग्रीको मूल्य दोब्बरसम्म भएको छ, हामीले गोजीबाट रकम हालेर काम गर्न त सक्दैनौं, जबसम्म मूल्यवृद्धि समायोजन हुँदैन तबसम्म काम अघि बढ्दैन।’ यद्यपि अत्यावश्यक कामले भने निरन्तरता पाउने उनले बताए।                                       केही दिनयता सार्वजनिक खरिद अनुगमन र बीमा समितिमा धर्ना दिँदै आएको महासंघले अब भने निर्माण कार्य नै रोक्न लागेको हो। निर्माण व्यवसायीले काम रोकेसँगै चालु रहेका ५ खर्ब बढीका ५ हजार आयोजनाको निर्माण कार्य प्रभावित हुने भएको छ। निर्माण सामग्रीमा भए,को अत्यधिक मूल्य वृद्धिको समायोजन गर्नुपर्ने, खरिद नियमावली ११औं संसोधनमा भएका त्रुटिहरु सच्याउनुपर्ने, बीमा निर्देशिका २०७८ खारेज गर्नुुपर्ने लगायतका माग आफूहरुको रहेको महासंघका महासचिव रोशन दाहालले बताए।

उनका अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, फलामजन्य लगायत निर्माण सामग्रीमा अप्रत्यासित मूल्य वृद्धि भएकाले ठेक्का लिएकै रकममा निर्माणको काम अघि बढाउन सक्ने अवस्था छैन। माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने महासंघले चेतावनी दिएको छ।आर्थिक वर्षको अन्तिम समय भएकाले चैतदेखि असार मसान्तसम्म निर्माण कार्यले केही गति लिने गरेको छ। यहीं बेला व्यवसायीले निर्माण कार्य ठप्प पार्दा देशभर पूर्वाधारको काम नराम्रोसँग प्रभावित हुनेछ। आफ्ना मागहरूका सम्बन्धमा सम्बन्धित सरकारी निकायमा जानकारी गराएपनि कुनै सुनुवाई नभएको दाहालले बताए।(कन्तिपुर)