१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

एउटै पदमा फरक फरक दलबाट दाजु भाईको उम्मेद्धारी

सुशासन सम्पादक
१५ बैशाख २०७९, बिहीबार २२:२९
115 Views

१५ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले फरक फरक पार्टिबाट मनोनयन दर्ता गराएका छन् । नेपालगंज उपमहानगरपालिका–१ मा र कोहलपुर नगर पालिका वार्ड नं. ३ मा फरक–फरक पार्टीबाट सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन्।

उपमहानगर १ को वडाध्यक्षमा कांग्रेसको तर्फबाट विनोद रिजाल र एमाले को तर्फबाट प्रमोद रिजालले उम्मेद्वारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोद २०४६ देखि विद्यार्थी राजनीति सुरु गरी हाल तरुण दल बाँकेको सचिव छन् । विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद २०७४ सालको स्थानिय निर्वाचनमा वडाध्यक्षमा बिजयी भएका थिए । उनि पेशामा अभिवक्ता पनि हुन् ।

त्यस्तै कोहलपुर ३ मा पनि दुई सहोदर दाजुभाइ बीच प्रतिस्पर्धा हुने भएको छ । भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच यस पालि पनि प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनीसँग ६५ मतले पराजित भएका थिए । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) बाट वडाध्यक्षका लागि भिड्दै छन् ।