६ चैत्र २०७९, सोमबार / Mar 20, 2023

श्रोत नखुलेको सुनसहित पक्राउ परेका डिएसपी ठगलाई कारबहीको सिफारिस

सुशासन खबर
२९ फाल्गुन २०७९, सोमबार ११:२९
4 Views

काठमाडौं। घुस लिने नियत राखेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ।

३५ तोला सुन र नगदसहित पक्राउ परेका डिएसपी केसीलाई ‘बदनियत राखेर लिन र खान खोजेको’ भन्दै कारवाहीको सिफारिस गरिएको हो।

एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको कमजोरी रहेको र घुस लिन खोजेको निष्कर्षसहितको प्रतिवेदन बुझाइएको छ।

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो। सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिले जनाएको छ।

डिएसपी ठगबहादुरले बुटवलकै एक सुन पसलेबाट तस्करीको आरोपमा सो सुन बरामद गरेका थिए। अवैध भएको पुष्टि भए राजस्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिए सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा उनले आफैँसँग राखेकाले बदनियत देखिएको समितिको निष्कर्ष रहेको छ।

हाल निलम्बनमा रहेका केसीलाई कानुनअनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ। उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ३५ तोला सुनका साथै ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेपछि निलम्बन गरेर छानविन शुरु गरेको थियो।

श्रोत डिसी नेपाल

Latest समाचार