“छिमेकको माइक्रोव्यवस्थानमा रअ : कुटनैतिक अतिक्रमण “

छबि सुबेदी

वि स २०७७ साल कार्तिक ५ गते दिउसो एक बजे काठमाडौको विमानस्थलमा भारतको एक विशेष विमान ” आइएफसी ४६२० ” अवतरण भयो। सो विमानमा सवार यात्रीहरुको विषयमा काठमाडौ बेखबर थियो। विमानबाट ओर्लिएर यात्रीहरु सिधै पाचतारे होटल ह्यायत तर्फ लागे। त्यहाबाट उनीहरु विशालनगर गए। रात नपर्दै उनीहरुले काठमाडौमा रहेका केही नेपाली भिआइपीहरुलाइ भेटिसकेका थिए। रात परेपछि उनीहरु चुपचाप नेपालका प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छिरे । त्यहा उनीहरुले नेपालका प्रधानमन्त्रीसङ्ग झन्डै तीन घण्टा बिताए। मध्य रातमा उनिहरु प्रधानमन्त्री निवासबाट बाहिरिए। त्यतिबेला काठमाडौ निदाइसकेको थियो। अचानक काठमाडौमा उत्रिएर नेपाली भिभिआइपी व्यक्तित्वहरुलाइ भेट्ने ती भारतीय यात्रीहरु सामान्य नागरिक थिएनन् । भारतको विदेश मामिला हेर्ने खुफिया एजेन्सी रअका
प्रमुख सामन्त गोयल र उनका सहकर्मीहरु थिए। उनीहरुको यात्राको विषयमा विमानस्थल कार्यालयलाइ समेत विमान ओर्लनुभन्दा केही घन्टा अघि मात्र नेपाल सरकारबाट जानकारी गराइएको थियो। गत वर्ष रअको प्रमुख बनिसकेपछी सोही सालको श्रावणको पहिलो हप्ता गोयल नेपाल आएका थिए। त्यतिबेला उनले रास्ट्रपतिलाई शितल निवास पुगेर भेटेका थिए। चीनका रास्ट्रपति सि आउनु पुर्वको गोयलको त्यो भ्रमणले नेपालमा तरंग सृजना गरेको थियो।

भारतले सन् १९६२ मा भएको चीनसङ्गको युद्धमा पराजित भएपछि विदेश मामिला हेर्ने एक शक्तिशाली अनुसन्धान व्युरो बनाउने तयारी गर्यो। सोही सन्दर्भमा सन् १९६८ को सेप्टेम्बरमा रअ( रिसर्च एन्ड एनालाइसिस विङ्ग) को स्थापना भयो। यसले सन् १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको सफल अपरेसन सम्पन्न गर्यो। सन् १९७५ को सिक्किम विलयमा पनि रअको अग्रणी भुमिका रह्यो। श्रीलंकामा तमील टाइगरको गतिविधि बढाउन र त्यसलाई नियन्त्रण गर्न रअको दोहोरो भुमिका रह्यो। जसका कारण राजीव गान्धीको ज्यानसमेत गयो। पाकिस्तानविरुद्ध सुराकी गर्न रअले कार्गिला र सराङ्कोट जस्ता युनिटहरु खडा गरेको छ। भारतको छिमेकमा रहेका मुलुकहरू पाकिस्तान , श्रीलंका , नेपाल , भुटान, बङ्गलादेश ,माल्दिव्स ,वर्मा आदि देशहरुमा रअको चलखेल अर्थपूर्ण रहेको देखिन्छ । छिमेकीहरुको राजकाज र भातभान्सामा रअले बेलाबखत उखरमाउलो मच्चाइदिएका दृस्टान्तहरु प्रशस्तै छन् । चीनका विरुद्ध रअको सक्रियताले भने देखिने गरि परिणाम निकाल्न सकेको छैन।

रअको मुख्य उद्देश्य भारतको सुरक्षा प्रवर्द्धन गर्नु हो। भारतलाई बाहिरबाट हुन सक्ने खतरा टार्न रअ क्रियाशील रहन्छ। यसले अन्तर्राष्ट्रिय जगतमा भएका कम्युनिस्ट आन्दोलन र विस्तारलाई पनि नजिकबाट नियाल्ने गर्छ। नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको सरकार रअको प्रमुख चासोभित्र पर्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। नेपाललाई चीनतर्फ ढल्किनबाट जोगाउन मात्र होइन नेपाललाई भारतमाथी निर्भर गराइराख्न जे जे गर्नुपर्छ त्यो सबै गर्नु रअको आदत भैसकेको छ।
भारत स्वतन्त्र भैसकेपछी भारतका धेरै अधिकारीहरु हिमालयको मुलुक नेपाललाई आफ्नो मुलुकमा गाभिएको हेर्न चाहन्थे। उनीहरुको त्यो चाहाना पूरा नभए पनि नेपाल भारतमाथी निर्भर राज्य जस्तो बन्यो। रअको स्थापनापछि भारतले नेपालमा दरबारलाई कमजोर बनाउन आफ्ना गतिविधि केन्द्रित गर्यो। जब कि जननिर्वाचित प्रधानमन्त्री वि पि कोइरालाबाट शासनको बागडोर दरबार पुर्याउन भारतको सहमति रहेको थियो। भारतको नेपालमा केही स्वार्थहरु छन् । पहिलो स्वार्थ नेपाललाइ सुरक्षासिमाको रुपमा प्रयोग गर्नु हो। दोश्रो यहाका प्राकृतिक साधन श्रोत भारतीय पुजीको विकासका निमित्त प्रयोग गर्नु हो। तेस्रोमा नेपाललाई आफ्नो एकलौटी बजारका रुपमा जोगाइराख्नु हो। यी स्वार्थहरु पूरा गर्न भारतले आफ्ना एजेन्सीहरुलाइ मुख्यत रअलाई नेपालको हरेक तहमा प्रभाव पार्ने गरि परिचालन गर्दछ।
लेख्न त वि पि कोइरालाले आफ्नो आत्मवृतान्तमा लेखेका छन् – सात सालको दिल्ली सम्झौतामा कुनै लिखित मस्यौदा थिएन। वि पि सकभर राणासङ्ग नेपालमै वार्ता गर्न चाहान्थे। तर भारतले राजा त्रिभुवनलाई पहिले नै दिल्ली पुर्यायो। काङ्ग्रेसलाई सुरक्षाको डर देखायो। राणालाई आस्वस्त पारिराख्यो। वि पि हरुको प्रजातान्त्रिक अभ्यासभन्दा महेन्द्रको प्रत्यक्ष शासन आफ्नो अनुकुल देखेको भारतले दरबारलाई पनि सदाबहार मित्र देखेन । दरबारलाई शासनबाट अपदस्थ गर्न रअ बि स २०४६ देखि नै सक्रिय रह्यो। दरबारले चीनसङ्ग हिमचिम बढाएकोमा भारत रुष्ट बनेको थियो। दलीय व्यवस्थाको कलिलो विरुवामा सबैखाले किराको आक्रमण सजिलो थियो। एजेन्सीहरु दलभित्र आआफ्ना पात्र र गुट सृजना गरिदिन्थे। स्थानीय अन्तरविरोधमा खेलिदिन्थे। यहि कारणले बहुमत प्राप्त गिरिजा प्रसाद कोइरालाको सरकार समेत अल्पमतमा परेको थियो। जनयुद्धको शुरु भएपछि नेपालको केन्द्रिकृत सत्ता नपत्याउदो आधिको लपेटामा पर्यो।नेपालले भारत लगायत अन्य मुलुकबाट हतियार खरिद गर्यो। जनयुद्धको उत्तरार्द्दमा रअले माओवादीसङ्ग सम्पर्क खोज्यो। शक्तिशाली बन्दै गएको माओवादीलाई कमजोर बनाउनु थियो। रअले माओवादीको पिछा गर्न थालेपछि नै धेरै माओवादी नेताहरु भारतमा पक्राउ परे। अध्यक्ष प्रचण्ड लगायतका नेताहरुका निमित्त भारतीय भुमी असुरक्षित बन्यो। रअले दरबार र दलको मिलन गराउन खोज्यो। अन्तत दल र माओवादीबिच समझदारी भयो। अध्यक्ष प्रचण्डको चाहना रोल्पामा वार्ता गर्ने भन्ने थियो। तर गिरिजा प्रसाद कोइरालाले भारत नै वार्ताको सुरक्षित स्थल हुन्छ भनेपछि उतै वार्ता र समझदारी भयो। वार्ता स्थल छनौटमा पनि रअ सफल भएको अनुमान गर्न सकिन्छ । कसरी र को मार्फत सफल भयो भन्ने कुरा आरोप प्रत्यारोपको हलुका विषय भन्दा पनि गम्भीर अनुसन्धानको विषय बन्न भने सक्छ।
बाह्र बुदे समझदारीको सेरोफेरोमा रअका अधिकारीले भनेका छन -“नेपाल यदि भारतभन्दा पाच हजार माइल टाढा हुदो हो त माओवादी अधिनायकवादलाई भारतले सहजै लिन्थ्यो होला । खुला सिमानाका कारण हामी माओवादीबाट हुने जोखिम उठाउन सक्दैनौ। खुला सिमा भएका देशहरूबिच विशेष सुरक्षा सम्बन्ध हुनुपर्छ । “पत्रकार प्रशान्त झाको पुस्तक ” व्याटल्स अफ द न्यु रिपब्लिक ” मा उल्लेख भए अनुसार रअले त्यतिबेलाको शक्तिशाली माओवादी पार्टीभित्र एक नेताका विरुद्ध अर्को नेतालाई उचालिदिन्थ्यो। पार्टी नेता र कार्यकर्ताबिच दरार पैदा गर्ने,कार्यकर्ता निराश हुने हरेक छिद्रहरु तयार पार्न रअ लागिपरेको कुरा उक्त पुस्तकमा उल्लेख छ । भेटवार्ता गर्नु,धम्क्याउनु, फकाउनु ,विभाजन गर्नु, निराश पार्नु, भ्रष्ट बनाउनु जस्ता तरिकाहरुमार्फत रअले कुनै पनि संस्थाभित्र अपरेसन चलाउछ। बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने समयमा रास्ट्रपति रामवरण यादवले त्यतिबेलाका भारतीय अर्थमन्त्री प्रणव मुखर्जीसङ्ग माओवादीलाई प्रधानमन्त्री बन्नबाट रोक्न भनेका थिए। त्यसैगरी शेखर कोइरालाले शिव संकर मेननसङ्ग रामचन्द्र पौडेललाइ प्रधानमन्त्री बन्न सहयोग गर्न भनेका थिए। रअका स्थानीय अधिकारीहरू त्यसरी सिधै राजनीतिक
नेतृत्वसङ्ग कुरा गरेकोमा रिसाएका थिए। दोश्रो संविधान सभाको चुनाव पछि दिल्लीले रअलाई माओवादीको पिछा छाड्न निर्देशन दियो। त्यतिबेला माओवादीको साइज धेरै घटिसकेको थियो।
नेपाल -भारत सम्बन्धमा माइक्रोव्यवस्थापनले जहिले पनि जटिलता ल्याइदिने गरेको छ। दुई देशबिचको सम्बन्ध पछिल्ला दिनहरुमा कालापानी ,लिपुलेक, लिम्पियाधुरा सहितका नेपाली भुभाग समेटेर भारतले नक्सा जारी गरेपछि बिग्रेको छ। विषयमा औपचारिक वार्ता हुन सकेको छैन। असहज वातावरणका बिच सामन्त गोयल काठमाडौ आएर घर झगडा थपिदिएका छन् । लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड ,वरिष्ठ नेता माधव कुमार नेपाल तथा अन्य शिर्ष नेताहरुले गोयलको रहस्यमय भ्रमणप्रती असन्तुष्टि जाहेर गरेका छन् । उक्त भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैसङ्ग राखेका थिए। अझ अगाडि कालापानी लगायतको अतिक्रमित भुमी समेटेर जारी गरिएको नक्शा समावेश भएको पुस्तक सार्वजनिक नगर्न निर्देशन दिएका थिए। केही भारतीय पत्रपत्रिकाले गोयललाइ प्रधानमन्त्री ओलीले पार्टीभित्रको झगडा मिलाइदिन बोलाएको हुन सक्ने भनी लेखेका छन् । केहिले भारतले नेपाल सरकार प्रमुखको मनसाय बुझ्न खुफिया प्रमुख पठाएको भनेका छन् । गोयलले प्रधानमन्त्रीसङ्ग दुई देशबीच सम्बन्ध विग्रन नदिने, वार्ताको थालनी गर्ने वचन दिएको भनी प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन् । वार्ताको ढोका खोल्न नेपालले जारी गरेको नयाँ नक्सा हटाउनु पर्ने पनि गोयलले माग गरेको कुरा सुनिएको छ। केही समय पहिले चीनले नेपाली भुमी अतिक्रमण गरेको भनी आएको समाचार बारे पनि गोयलले चासो राखेको अनुमान छ। त्यसैगरी चीनबाट नेपालले सहयोग नलिन सचेत गराएको पनि हुन सक्छन् । केही समय पहिले अमेरिकाले नेपाललाइ चिनबाट हुने पुर्वाधार निर्माणसम्बन्धि सहयोग नलिन सुझाव दिएको थियो।रअ प्रमुख र प्रधानमन्त्रीबिचको त्यति लामो गोप्य भेटघाटमा भएका कुराहरू सार्वजनिक भएका छैनन् ।
कुनै पनि खुफिया एजेन्सीलाई संबंधित सत्ताले काम दिन्छ। सोही अनुसार एजेन्सी परिचालित हुन्छ। सत्ताले काम नदिदासम्म जासुसी संस्था स्वयंले कुनै कदम चाल्दैन। सूचना भने सत्तासम्म पुर्याइराख्छ। रअले भारतको छिमेक र विश्वभरिबाट आफ्नो संजालमार्फत सुचना संकलन गर्दछ। यसका तालिमप्राप्त झन्डै अठार हजार जासुसहरुमध्य बाह्र हजार जासुसहरु दक्षिण एसियाली मुलुक अर्थात छिमेकमा कार्यरत छन् । नेपालमा रअका जासुसहरु उल्लेख्य संख्यामा रहेको विश्वास गरिन्छ। बि स २०७४ को चुनावमा कम्युनिस्ट पार्टिको अत्यधिक बहुमत आएपछि रअको रुचि नेकपातर्फ ह्वात्तै बढेको थियो। कट्टरपन्थी भारतीय जनता पार्टीको कम्युनिस्टप्रती सकारात्मक धारणा हुने कुरै छैन। बिजेपी सरकारले रअलाई नेपालको सन्दर्भमा त्यही खालको जिम्मेवारी दिएको हुनुपर्छ । नेपालको राजनीतिक नेतृत्व देखि प्रशासनिक नेतृत्वको संस्कार भारतबाट आशिर्वाद लिएर चल्ने खालको रहदै आएको छ। त्यसकारण पनि भारतले नेपालसङ्ग आफ्नै संरक्षणमा रहेको राज्य उपर झै व्यवहार गरेको छ।
केही महिना अघिसम्म पनि भारतीय हेपाहा प्रवृतिसङ्ग नझुक्ने नेताका रुपमा प्रसारित भएका प्रधानमन्त्री ओलिलाई सामन्त गोयलले जुठ्याइदिएका छन् । जासुसहरुको यो एउटा कला हो। कुरा केही नभए पनि सरकारको कुनै प्रतिनिधि नराखेर एउटा सचिव स्तरको विदेशी कर्मचारीसङ्ग सरकार प्रमुख घण्टौ गफिनुले प्रधानमन्त्री ओलिको प्रतिस्ठामाथी मात्र होइन , रास्ट्रीयतामाथी धेरै ठूलो आघात पुर्याएको छ । दुई देशबिचका समस्याहरुको हल गर्न सरकारको तहमा वार्ता हुनु पर्यो। त्यसको जानकारी सञ्चार माध्यममार्फत आम जनतालाई गराउनुपर्यो।नेपालमा पटकपटक दोहोरिरहने सत्तामा उक्लिन र सत्ता जोगाउन बिदेशी एजेन्टको चक्कर काट्नु पर्ने बिडम्बनापुर्ण विरासतको अन्त्य असम्भव भने छैन। घरेलु समस्या हल गर्न नेपाली जनतासङ्गै सहयोग माग्दा स्वाभिमान गुम्ने छैन।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *

mbo99 mbo99 mbo99 rtp mbo99 mbo99 mbo99 macauslot555