३ पुस, काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न का लागि शीघ्र जिम्मेवार टोली ( र्यापीड रेस्पोन्स टीम) गठन भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो । वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले वैदेशिक रोजगार सम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि टोली गठन गरिएको बताए ।
टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघसंस्था तथा व्यक्तिले बदनियत पूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्न सक्नेछ ।