१० जेठ, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् ।
बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करिब ८ बजे ५०÷६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।
स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् ।
यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ ।
श्राेत अनलाइन