जेठ १४, २०७९ – अमर सुनार
दैलेख – गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्तै आएका राउटेहरुलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका – ८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले उक्त सुरक्षा भत्ता वितरण गरेको छ ।
फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका – ८ का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरे यता संघीय सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।
हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका – ८ काे वडाध्यक्ष ओली ले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरै जति दैलेखमा बस्ने गरेकोले संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।