१९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उदघाट्न गर्दै भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो ।’
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मनमुटाव भएपछि ओलीले पहिलो पटक सार्वजनिक रुपमा सो अभिव्यक्ति दिएका हुन् । पार्टीका नेता र कार्यकर्ता होइन, डाक्टर, नर्स र सरकारी कर्मचारी सहभागी कार्यक्रममा प्रधानमन्त्रीले प्रश्न गरे, ‘तपाईंहरू नै भन्नुस्, के मैले अहिले राजीनामा दिन मिल्छ ?’
‘मैले राजीनामा दिनु भनेको सम्पुर्ण तीन करोड नागरिकको इच्छा बिपरित र देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन’ प्रश्नको जवाफ आफैं दिए ।
मन्त्रिपरिषद पुनर्गठन, कर्णाली प्रदेशका मूख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्ताव, राजदूत नियुक्ति लगायतका विषयले पछिल्लो समय ओली र प्रचण्ड बीच दुरी बढेको देखिन्छ । १५ कात्तिकमा भएको भेट र त्यसपछिका टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले ‘अब सँगै जान सकिँदैन, सल्लाहमै पार्टी फुटाऔं’ भनेर प्रस्ताव गरेको अर्का अध्यक्ष प्रचण्डले पार्टी सचिवालयका बहुमत सदस्यलाई ब्रिफिङ गर्ने क्रममा जानकारी दिएका थिए ।
तर नेकपा भित्र जतिसुकै अन्तरविरोधको स्वर सुनिए पनि राजीनामाको विषय भने सुनिएको थिएन । प्रधानमन्त्रीको राजीनाबारे बहसै नभएका बेला एका एक गैरराजनीतिक कार्यक्रममा प्रधानमन्त्रीबाटै यस्तो अभिव्यक्ति कि न आयो त ? अकस्मात आएको यो अभिव्यत्तीले पार्टीभित्र मात्रै होइन बाहिर पनि अचम्मित बनाएको छ ।