लुम्बिनी प्रदेशमा एका एक आइतबार बिहानै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नाटकीय राजनीतिक घटनाक्रमले आइतबार अपराह्नसम्म आइपुग्दा अर्कै मोड लिएको छ। मुख्यमन्त्री पोखरेलले दोस्रो कार्यकालका लागि आइतबार नियुक्त भइसकेका छन्।
विपक्षीहरुले भने बहुमत आफूहरुसँग हुँदा हुँदै प्रदेश प्रमुखले प्रक्रिया बिना नै संविधान मिचेर अल्पमत पक्षका पोखरेललाई मुख्यमन्त्री बनाएको आरोप लगाएका छन्। यतिबेला विपक्षीहरु ४२ जना सांसदको हस्ताक्षर बोकेर प्रदेश प्रमुख धर्मनाथ यादवको कार्य कक्षमा छन्।
प्रदेश प्रमुखको कार्यालय परिसरमै रहेका काँग्रेस प्रमुख सचेतक फखरुदिन भने, “हामी अहिले प्रदेश प्रमुख कार्यालयको प्रांगणमै छौं। मुख्य मन्त्रि नियुक्ति बदर गर्नु पर्छ। प्रदेश प्रमुखले एमालेको कार्यकर्ता भै काम गर्नुभएको छ। संविधान मिचेर अल्पमत पक्षलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको छ। हामी पोखरेललाई शपथ ग्रहण गर्न दिँदैनौं।”
एमालेबाट जितेका दुईजना सांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही समेतले विपक्षीको गठबन्धनमा हस्ताक्षर गरेका छन्। यी दुईजनाले राजीनामा दिने चर्चा चलेको थियो तर, उनीहरुले राजीनामा नभई विपक्षीको गठबन्धनमा हस्तक्षर गरेका छन् । दुईजना सांसद एमालेका नेता भने होइनन्। तर, एमालेको सूर्य चिन्हबाट स्वतन्त्र उम्मेदवार भई जितेका हुन्।
उता एमालेका एकजना सांसद दिर्गनारायण पाण्डेयले राजीनामा दिइसकेका छन्। तर, उनको राजीनामा स्वीकृत भने भएको छैन। हाल ८१ सदस्यीय प्रदेशसभामा विपक्षीहरुसँग ४२ जनाको हस्ताक्षर भएसँगै पोखरेल अल्पमतमा देखिएका छन्।