सुन्दरी प्रतियोगिताको आयोजकबाट प्रतियोगीमाथी यौन दुब्र्यबहार

काठमाडौँ — आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छन् ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । भिडियोमा उनले सानैदेखि मोडलिङमा रुचि राख्ने गरेको र कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएको बताएकी छन् ।

त्यसमा छनाैट नभए पनि उनको फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको उनको भनाइ छ ।

‘अफर आएपछि म निकै उत्साहित भएँ, कन्सल्टेन्सीको मान्छे र एक जना फोटाग्राफर मिलेर मेरो फोटोसुट गराए, कन्सल्टेन्सीको मान्छेले मलाई पाँच हजार रुपैयाँ दियो,’ उनले भनेकी छन्, ‘कन्सल्टेन्सीको मान्छेले मलाई सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बतायो, म पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएकाले सहभागी हुन तयार भएँ ।’

‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा उनी सहभागी मात्र भइनन्, ‘फर्स्ट रनर–अप’ को ताज पनि पाइन् । त्यसपछि प्रतियोगिताको आयोजकले उनलाई फोन गरेर नयाँ बानेश्वरको एभरेस्ट होटलमा ‘सक्सेस पार्टी’ हुन लागेको भनेर बोलाएको र त्यहाँ जाँदा अरू सहभागी पनि नदेखेको उनको भनाइ छ । आयोजकले अरू पछि आउँछन् भन्दै फकाएको, पेय पदार्थ दिएको र केही समयपछि आफूलाई चक्कर आएर असहज भएको तर घर जान नदिएको उनले बताएकी छन् । ‘त्यसपछि मैले घर जान चाहन्छु भनेकी थिएँ तर उसले तिमी विजेता भएर यस्तो भन्ने भन्दै बस्न दबाब दियो ।’

अरू सहभागी आएपछि बोलाउने भन्दै आयोजकले केहीबेर आराम गर्न उनलाई कोठामा पठाएको तर त्यसपछि बेलाबेलामा होस खुल्दा आफूमाथि बलात्कार भइरहेको थाहा पाए पनि प्रतिकार गर्न नसकेको उनले बताएकी छन् । एकैचोटि भोलिपल्ट बिहान होस खुल्दा आयोजक आफूसितै सुतिरहेको थाहा पाएको उनले भिडियोमा भनेकी छन् । आफू चिच्याएर रुन थालेपछि पैसा देखाएर फकाउन खोजेको र भिडियो तथा फोटो खिचिसकेको भन्दै धम्क्याएको उनले बताएकी छन् । ‘नग्न तस्बिर र भिडियोहरू लिएको छु, सार्वजनिक गरिदिन्छु भन्दै ब्लाकमेल गरेर ६ महिनासम्म यौन शोषण गरिरह्यो,’ उनले भनेकी छन् ।

आफ्ना एक जना पुरुष साथीलाई यो कथा भनेपछि उनको साथमा आयोजक एजेन्सीको कार्यालयमा गएको र अडियो रेकर्ड, टेक्स्ट मेसेजहरू सुनाएको उनले खुलाएकी छन् । आक्रोशित साथीले आयोजकलाई कुटेको, आफूले पनि एक–दुई झापड हानेको र माफी माग्न लगाएको उनको भनाइ छ । तर यही घटनाले गर्दा आफ्ना सामाजिक सम्बन्धहरू टुटेको, दोषीलाई कारबाही नभएको देखेर आत्मबल कमजोर भएको र विभिन्न औषधिको सहारा लिनुपरेको विस्तृत विवरण उनले सुनाएकी छन् ।

कान्तिपुर दैनिक

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *