काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबार देखि नियमित काममा फर्किएका छन्।अधिकारी चैत्र २४ गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २५ चैतबाट निलम्बनमा परेका थिए । अधिकारीलाई राष्ट्र बैंकमा फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको छ।
सर्वोच्च अदालतमा गभर्नर अधिकारीले आफुलाई कानुन सम्मत निलम्बन नगरेको हुँदा उक्त निर्णय बदर घोषित गरि पाउ पनि रिट दायर गरेका थिए ।
उक्त रिटमाथी छलफल पश्चात न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। तर, सर्वोच्चले यो बिषयसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न समेत अन्तरिम अल्पकालिन आदेश जारी गरेको छ । सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ।