काठमाडौँ — सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरे पछि फरार रहेका पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरका अनुसार केहीबेर अघि कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्था समातिएका हुन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा यस अघि तोकेको जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ मा कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए ।
उक्त कैद घटाएको बिषयमा पुन मुद्दा दायर भए पछि बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो । सर्वोच्चको फैसला आएपछि बिहीबार दिउँसोबाटै कोइराला सम्पर्कविहीन भएका थिए ।