काठमाडौं ।कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठकबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन् ।
कर्णाली प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा कर्णाली प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी भएका पाँच अध्यादेश बैठकबाट सर्वसम्मत स्वीकृत भएका हुन् ।
बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई ‘कणाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८’ र ‘कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८’ स्वीकृतका लागि सभामा प्रस्ताव गर्न समय दिएका थिए।
बिधेक आर्थिक मामिला मन्त्री विष्टले पुस २८ गते प्रदेशसभामा पेश गरेका थिए । पेश भएका कुनै पनि अध्यादेशमा विरोधको सूचना नआएपछि सभामुख शाहीले सभामा निणयार्थ पेश गरे सँगै तीनवटै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।
त्यसैगरी, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले आज प्रदेशभसा बैठकमा स्वीकृतिका लागि प्रस्ताव गरेको ‘प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८’ पनि सभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ ।
उक्त बैठकमा कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह, सामाजिक विकास समितिका अध्यक्ष देवी ओली र विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले आ–आफ्ना समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रदेशसभाको अर्को बैठक माघ २३ गते दिउँसो १ बजे बस्ने सभामुख शाहीले जानकारी दिए।
श्राेत िडसी नेपाल